काठमाडौँ । सामाजिक संस्था ‘सेवा र विकासका लागि युवा’ले देशका १९ जिल्लामा अध्ययनरत करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुलालगायत जिल्लाका आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीलाई कार्यक्रममार्फत सहयोग गरिनेछ। वितरण गरिने सामग्रीमा विद्यालय झोला, कापी, कलम, अङ्ग्रेजी बोलचालसम्बन्धी पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्यापलगायतका शैक्षिक सामग्री समावेश छन्। गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यस कार्यक्रमबाट लाभान्वित हुने जनाइएको छ। २०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको ‘सेवा र विकासका लागि युवा’ले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले हालसम्म करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, राहत तथा उद्धार, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिसकेको जनाएको छ।पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष डा। देवेन्द्र कडेलले विद्यार्थीहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूको शिक्षामा लगानी गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले विशेषगरी दुर्गम र अवसरबाट वञ्चित क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए। संस्थाका अनुसार वितरण गरिने शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। नेपालमा शिक्षा क्षेत्रको विकासका लागि भारतले छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय र छात्रावास स्थापना, विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न सहयोग गर्दै आएको छ। संस्थाले कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, सामाजिक संघसंस्था, शिक्षाप्रेमी तथा सरोकारवाला निकायसँग सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ।