काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि थाँती रहेका देशका संरचनात्मक तथा आर्थिक समस्याहरू एउटै बजेटमार्फत समाधान हुने अपेक्षा गर्नु व्यावहारिक नहुने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेट निर्माण प्रक्रिया स्रोत, समय र जनअपेक्षाको दबाबबीच हुने भएकाले यसको सीमालाई बुझ्न आवश्यक रहेको बताए। उनका अनुसार सरकारको बजेटमा आम्दानीका स्रोत र खर्चका प्राथमिकता निर्धारण भइसकेपछि ठूलो हिस्सा पूर्वनिर्धारित नै हुन्छ। त्यसैले बजेट सार्वजनिक हुँदैमा सबै समस्या समाधान हुन्छन् भन्ने धारणा सही नहुने उनको भनाइ थियो।
मन्त्री वाग्लेले बजेटबारे अनावश्यक रूपमा धेरै अपेक्षा राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै दशकौँदेखि रहेका चुनौतीहरू समाधान गर्न निरन्तर नीतिगत सुधार र दीर्घकालीन प्रयास आवश्यक पर्ने बताए। उनले यस वर्ष कर प्रणालीमा उल्लेखनीय सुधारको प्रयास गरिएको पनि जानकारी दिए। विगत तीन दशकमा एकैपटक यति धेरै करका दर, दायरा र संरचनामा परिवर्तन गर्ने प्रयास नभएको उल्लेख गर्दै उनले समयको अभावका कारण अझ परिष्कृत रूपमा काम गर्न सकिने सम्भावना रहेको स्वीकार गरे। निर्वाचनअघि गरिएको करको समग्र भार घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उद्देश्यले सरकारले कर सुधारका कदम अघि बढाएको उनको भनाइ थियो। मन्त्री वाग्लेले बजेटलाई अन्तिम समाधान नभई आर्थिक विकासको आधार तयार गर्ने साधनका रूपमा लिनुपर्ने बताए। बजेटले नीति, योजना र लगानीको जग बसाल्ने तथा त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अर्थतन्त्र विस्तार गर्ने जिम्मेवारीमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।