काठमाडौँ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट दुई दिनअघि हराएका एक बालक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय रोहित यादवका तीन वर्षीय छोरा मनिकेश यादव शुक्रबार साँझ घरनजिकै खेल्ने क्रममा अचानक सम्पर्कविहीन भएका थिए। उनको खोजी जारी रहेका बेला सोमबार गाउँकै एक पोखरीमा शव फेला परेको हो। प्रहरीका अनुसार बालकको शव बोराभित्र राखिएको अवस्थामा पानीमा तैरिरहेको भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ। प्रारम्भिक अवस्थाले हत्या भएको आशंका देखिएकाले घटनाबारे गहन अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण बनेको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाका विभिन्न पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ। यसैबीच, महोत्तरीमा अन्य दुई बालक पनि बेपत्ता रहेका छन्। जलेश्वर नगरपालिका–१२ का १२ वर्षीय गौतम यादव र जलेश्वर–६ का १५ वर्षीय अभय मण्डल केही दिनदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।