काठमाडौँ। गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘महाभारत’ले कलाकारहरूलाई मात्र होइन, दर्शकहरूलाई पनि गहिरो रूपमा सोच्न बाध्य बनाइरहेको छ। करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको यो नाटकले समाजमा विद्यमान जातीय विभेद, अवसरको असमानता र मानवीय संवेदनासम्बन्धी प्रश्नहरू उठाएको छ।
हास्यव्यंग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यस नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रंगमञ्चमा देखिएका छन्। लामो अभ्यासपछि मञ्चमा उत्रिएका गजुरेलका लागि यो अनुभव केवल अभिनय मात्र नभई सिकाइको नयाँ यात्रा बनेको छ। उनका अनुसार एकल प्रस्तुति र रंगमञ्चीय नाटकबीच ठूलो अन्तर हुन्छ। ‘एकल प्रस्तुति गर्दा कलाकार बढी स्वतन्त्र हुन्छ, तर नाटकमा पात्र, सहकलाकार, प्रकाश, ध्वनि र निर्देशन सबैको समन्वय आवश्यक हुन्छ,’ उनले भने। उनका अनुसार यही सामूहिकताको अभ्यासले ‘महाभारत’लाई अझ विशेष बनाएको छ।
गजुरेलले नाटकको अभ्यास र प्रदर्शन क्रममा आफूलाई कहिलेकाहीँ पुरानो अनुभवसँग जोडिएको जस्तो महसुस हुने बताए। उनले नाटकलाई केवल अभिनय नभई सामूहिक ऊर्जा र समन्वयको परिणामका रूपमा व्याख्या गरे। अभिनयलाई उनले निरन्तर सिकाइको प्रक्रिया भएको उल्लेख गर्दै समयसँगै जिम्मेवारी र चुनौती झन् बढ्दै जाने अनुभव सुनाए। उनका अनुसार रंगमञ्चमा हरेक प्रस्तुति नयाँ पाठ सिकाउने माध्यम हो। नाटकमा गणेशको भूमिका निर्वाह गरिरहेका गजुरेलले पात्रभित्रै डुबेर अभिनय गर्नु रंगमञ्चको सबैभन्दा ठूलो विशेषता भएको बताए। कमेडी प्रस्तुतिमा दर्शकको प्रतिक्रियाले प्राथमिक भूमिका खेल्ने भए पनि नाटकमा निर्देशकको दृष्टिकोण र कथाको भावनात्मक पक्ष बढी महत्त्वपूर्ण हुने उनको भनाइ छ।
नाटकमा एकलव्यको भूमिका निभाइरहेका कलाकार सन्दीपले मनोज गजुरेलसँगको सहकार्यलाई प्रेरणादायी अनुभवका रूपमा लिएका छन्। उनका अनुसार नाटकमा केवल महाभारतकालीन कथा मात्र नभई आजको समाजमा पनि विद्यमान जातीय विभेद र अवसर असमानताजस्ता विषयहरू समेटिएका छन्।गजुरेलले समाजले एकलव्यको कथालाई प्रायः गुरुभक्तिको दृष्टिले मात्र हेर्ने गरेको उल्लेख गर्दै त्यसका पछाडि रहेका सामाजिक यथार्थहरू अझ गहिरो रूपमा बुझ्न आवश्यक रहेको बताए। निर्देशक नवीन भट्टको कार्यशैलीको प्रशंसा गर्दै कलाकारहरूले नाटकलाई सहज र सहकार्यपूर्ण वातावरणमा तयार गरिएको बताएका छन्। कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘महाभारत’ले प्राचीन कथामार्फत समकालीन समाजका जटिल प्रश्नहरूलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको छ।