काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले बजेट निर्माणका क्रममा करका दरसम्बन्धी सूचना चुहावट भएको आशंका व्यक्त गर्दै त्यसबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। उनका अनुसार करका दर परिवर्तनसम्बन्धी जानकारी सीमित व्यक्तिसम्म मात्र पुग्ने भएकाले यस विषयमा अर्थमन्त्रीको भूमिका समेत छानबिनको दायरामा ल्याउनुपर्छ। शाहीले करका दर सार्वजनिक हुनुअघि नै केही व्यवसायिक समूहले त्यसको जानकारी पाएर लाभ उठाएको हुनसक्ने आशंका व्यक्त गरे।
उनले यस्तो गम्भीर विषयमा सरकारले मात्र होइन, संसद्ले नै छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे। उनले बजेटमा प्रस्तुत गरिएका करका दरमा हस्तक्षेप वा चुहावट भएको प्रमाणित भए त्यसलाई गम्भीर कानुनी अपराधका रूपमा लिनुपर्ने बताए। साथै, सुशासन र पारदर्शिताको प्रतिबद्धतासहित आएको सरकारले यस्ता आरोपलाई गम्भीरतापूर्वक लिएर स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो। सांसद शाहीले करसम्बन्धी गोप्य सूचना चुहाउने वा त्यसको दुरुपयोग गर्ने जोसुकैमाथि पनि कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।