काठमाडौँ। श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उक्त भनाइ सच्याउन आग्रह गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य मुलुकको भूमि अतिक्रमण गरेको संकेत गर्ने खालको अभिव्यक्ति दिएको भन्दै त्यसको आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानसँग जोडिएको संवेदनशील विषय उठाएको उल्लेख गर्दै यदि उक्त दाबी पुष्टि गर्न नसकिए नेपाली जनतासामु स्पष्ट रूपमा आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने धारणा राखे। राईले प्रधानमन्त्रीले आफ्नो भनाइप्रति जिम्मेवार बन्नुपर्ने बताउँदै आवश्यक परे सार्वजनिक रूपमा माफी माग्नसमेत तयार हुनुपर्ने बताए। उनले सीमासम्बन्धी विवाद समाधान नभएसम्म अन्य विषयमा केन्द्रित हुनु उचित नहुने पनि उल्लेख गरे। उनका अनुसार राष्ट्रिय सीमाको रक्षा र संरक्षण राज्यको प्रमुख दायित्व हो। त्यसैले सीमा अतिक्रमणजस्ता विषयमा सरकारको स्पष्ट धारणा र नीति आवश्यक रहेको उनले जोड दिए।