काठमाडौँ। मन्थली नगरपालिका–८ चिसापानीमा सडक किनारलाई हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘हरित सडक अभियान’ले उल्लेखनीय सफलता हासिल गरेको छ। वडा कार्यालय र स्थानीयवासीको संयुक्त पहलमा सडक छेउमा फूल तथा फलफूलका बिरुवा रोपिएपछि क्षेत्रको स्वरूप नै बदलिएको छ।
रामेछाप सदरमुकाम मन्थलीदेखि चिसापानी जोड्ने सडकखण्डअन्तर्गत गाईखुरा क्षेत्रदेखि चिसापानीसम्म विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा लगाइएको छ। सडकलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्यसहित मन्थली नगरपालिका–८ ले यो अभियान अघि बढाएको हो। वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार २०८० सालदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब एक हजार बिरुवा रोपिसकिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिताका कारण अभियान प्रभावकारी बनेको उनले बताए।
उनले सडकको सौन्दर्य बढाउनुका साथै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए। रोपिएका बिरुवाको संरक्षण, सिँचाइ र हेरचाहमा स्थानीयवासीले निरन्तर साथ दिइरहेको उनको भनाइ छ। वडा कार्यालयका अनुसार हरियाली विस्तारसँगै चिसापानी क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि अघि बढाइएको छ। यसका लागि सडक क्षेत्रमा बत्ती जडान, होमस्टे सञ्चालन तथा अन्य पर्यटनमैत्री पूर्वाधार विकासका काम भइरहेको जनाइएको छ। नेवारी संस्कृति र ऐतिहासिक चिसापानी गढी यहाँका प्रमुख आकर्षण मानिन्छन्।
स्थानीयवासीले सडक किनारमा फूल र फलफूलका बिरुवा हुर्किएसँगै क्षेत्रको सौन्दर्यमा उल्लेखनीय सुधार आएको बताएका छन्। हरियालीले भरिएको सडक अहिले यात्रु तथा आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। वडा कार्यालयले आगामी दिनमा पनि हरियाली संरक्षण, सडक सौन्दर्यीकरण तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय सरकार र समुदायबीचको सहकार्यबाट सफलतापूर्वक सञ्चालन भएको यो अभियानलाई उदाहरणीय पहलका रूपमा हेरिएको छ।