काठमाडौँ। प्रहरीले विभिन्न स्थानबाट स्रोत खुलाउन नसकिएको नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भारतको आन्ध्र प्रदेशस्थित प्रकासमका ५९ वर्षीय भीम श्रीनिवास ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। शनिबार दिउँसो बुद्ध एयरको उडानमार्फत काठमाडौं आउन लागेका उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त रकम फेला पारेको थियो। त्यसैगरी, रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट १९ लाख ५२ हजार १ सय रुपैयाँ नगदसहित ३६ वर्षीय मिङमार छिरिङ गुरुङ पक्राउ परेका छन्। गोसाईकुण्ड गाउँपालिका–३ वृद्दिम निवासी गुरुङलाई शनिबार साँझ स्याफ्रुबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमोमा यात्रा गरिरहेका बेला अस्थायी प्रहरी पोस्ट धुन्चेको टोलीले नियन्त्रणमा लिएको हो। दुवै घटनामा बरामद रकमको स्रोत खुल्न नसकेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।