काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ।
बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। उनले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसद्मा प्रस्तुत गर्नेछन्। यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीहरू पनि पेस हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यता प्रतिपक्ष दलहरूले भने संसद अवरुद्ध गर्ने जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उनिहरू संसद अवरुद्ध गरिरहेका छन् ।