काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग अब व्यक्तिगत वा राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।
धनकुटामा आयोजित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको ध्यान पुराना दललाई गाली गर्ने वा उनीहरूसँग भिड्ने भन्दा पनि देशका वास्तविक समस्याहरू समाधान गर्न केन्द्रित रहेको स्पष्ट पारे। उनका अनुसार पार्टीको मुख्य लक्ष्य समाजमा व्याप्त गरिबी, असमानता, विभेद, भ्रष्टाचार र बेरोजगारीको अन्त्य गर्नु हो। “हामी गाली गरेर होइन, काम गरेर देश बदल्न आएका हौँ,” उनले भने। परियारले पुराना दलहरू अझै पुरानै सोच र अस्वस्थ प्रतिस्पर्धामा अल्झिएको आरोप लगाउँदै अब जनताले नै उनीहरूको मूल्यांकन गरिसकेको बताए। उनले धनकुटाका किसानले उत्पादन गरेको सुन्तला, तरकारी र दूधको उचित मूल्य नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए। साथै, रोजगारी नपाएर युवाहरू विदेशिन बाध्य भइरहँदासम्म आफ्नो संघर्ष जारी रहने उनको भनाइ थियो। आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै उनले धनकुटालाई ‘घण्टीमय’ बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान पनि गरे।