काठमाडौँ। पर्वत जेसीजको आयोजनामा दोस्रो खुला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ। गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि साउन २८ देखि ३१ गतेसम्म कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माका अनुसार प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा पुरस्कृत गरिनेछ। ‘बेस्ट प्लेयर’, ‘बेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘बेस्ट मिडफिल्डर’, ‘बेस्ट गोलकिपर’, ‘राइजिङ प्लेयर’ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ‘वन टिम स् वन भिजन’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको उद्देश्य युवा प्रतिभाको पहिचान, खेलकुदको प्रवर्द्धन तथा समुदायलाई खेलमार्फत जोड्नु रहेको अध्यक्ष शर्माले बताइन्। उनका अनुसार स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने लक्ष्य पनि प्रतियोगिताले लिएको छ।
यसपटक प्रतियोगितालाई वातावरण संरक्षणसँग समेत जोडिएको छ। आयोजकले प्रतियोगितामा हुने प्रत्येक गोल बराबर एक बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने जनाएको छ। यसले खेलसँगै वातावरणप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। प्रतियोगिता संयोजक अन्जोल कर्माचार्यले जेसीज तथा गैर–जेसीज समूहबीच आपसी सम्बन्ध विस्तार गर्न प्रतियोगिता उपयोगी हुने बताए। साथै, पर्वत जेसीजलाई अन्य जिल्ला तथा विभिन्न संघसंस्थासँग जोड्ने माध्यमका रूपमा पनि यस प्रतियोगितालाई लिइएको उनले उल्लेख गरे। गत वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि पोखराको ‘होटेल बेन्जु’ टोलीले जितेको थियो। फाइनलमा उसले गुन्नी फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै ट्रफी उचालेको थियो। सेभेन ए साइड फुटबल परम्परागत ११ खेलाडीको फुटबलको छोटो संस्करण हो, जसमा प्रत्येक टोलीमा सात जना खेलाडी मैदानमा उत्रन्छन्। सानो मैदानमा खेलाइने यो प्रतियोगिता मनोरञ्जन, प्रतिस्पर्धा, प्रतिभा पहिचान र सामुदायिक एकताका लागि लोकप्रिय मानिन्छ।