धुन्चे (रसुवा) । सुवाको धुन्चे बजारमा स्रोत नखुलेको लाखौँ नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विशेष चेकिङका क्रममा १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक युवा पक्राउ परेका हुन्।
जेठ २३ गते अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा नियमित सवारी तथा पैदलयात्री चेकिङ गरिरहेको थियो। सोही क्रममा स्याफ्रुबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई रोकेर रीतपूर्वक खानतलासी गर्दा उक्त रकम फेला परेको हो।
पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. ३ स्थायी घर भएका ३५ वर्षीय मिडमार छिरिङ गुरुङ रहेका छन्। उनले साथमा बोकेको झोलाभित्र लुकाईराखेको अवस्थामा प्रहरीले विभिन्न दरका नोटहरू बरामद गरेको छ ।
बरामद रकमको आधिकारिक स्रोत खुलाउन नसकेपछि प्रहरीले मिडमार छिरिङ गुरुङलाई रकमसहित तत्कालै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार उनलाई अवैध हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन सम्मानित रसुवा जिल्ला अदालतबाट आजै दिन सात (७) को म्याद थप अनुमति लिई हिरासतमा राखेर आवश्यक कार्य भइरहेको प्रहरीले जनाएको छ।