काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच बाँकी रहेका सीमा तथा सीमांकनसम्बन्धी विषयहरू आपसी संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
भारत भ्रमणका क्रममा उनले दुई देशबीचको सम्बन्धलाई आपसी हित, विश्वास र सहकार्यका आधारमा अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले बाँकी रहेका सीमा विवादलाई खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री खनालले भने, “हामी आपसी हितका आधारमा सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ । सीमा र सीमांकनसम्बन्धी बाँकी विषयहरू कूटनीतिक संवादबाट समाधान गर्न सकिन्छ र गर्नुपर्छ भन्ने हाम्रो अडान हो ।
उनका अनुसार नेपाल–भारतबीच यसअघि नै विभिन्न संयन्त्रहरू सक्रिय छन्, जसअन्तर्गत प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोलीले सीमाक्षेत्रमा काम गरिरहेको छ । उनले थपे, “हामीले हिजोको छलफलमा सबै संयन्त्रहरूलाई पुनः सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि संवाद र सहकार्यका माध्यमबाट विद्यमान समस्या समाधान गर्न सकियोस् । परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई संवाद, विश्वास र सहकार्यको नयाँ दिशामा अघि बढाउने संकेतका रूपमा हेरिएको छ ।