काठमाडौैँ । वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउन लागेको यो फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री भएको हो ।
निर्देशक तथा लेखक माओत्से गुरुङका अनुसार फिल्मको आधिकारिक प्रचार सामग्री सार्वजनिक हुनुअघि नै विदेश प्रदर्शन अधिकार बिक्री हुनु आफैंमा उत्साहजनक उपलब्धि हो । बेलायतमा प्रदर्शन अधिकार सपन इन्टरटेन्टमेन्ट लिमिटेडले खरिद गरेको छ भने हङकङका लागि मेन ड्रागन लिमिटेडले अधिकार लिएको छ । निर्देशक गुरुङले अन्य केही देशबाट पनि प्रदर्शन अधिकारका लागि प्रस्ताव आएको र ती सम्झौताहरू अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । ‘पेन्सन पट्टा’मा गुरुङ स्वयं पनि निर्माता तथा लगानीकर्ताका रूपमा संलग्न छन् ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ, पुष्कर गुरुङ र प्रतिक्षा गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ । विश्वास र माया गुरुङले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन् । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि यो फिल्मले लोभी पात्र कसरी समयसँगै दानी बन्छ भन्ने कथा प्रस्तुत गर्ने उनले बताएका छन् ।
विदेशी लगानीतर्फ मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको सहभागिता रहेको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी डिबी गुरुङले सम्हालेका छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा कास्टिङ निर्देशक सुरज तमु हुन् भने संगीतमा मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङ संलग्न छन् । कियर कोइचले सम्पादन गरिरहेको यस फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् ।फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।