काठमाडौँ। उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ सुरु हुन अब धेरै समय बाँकी छैन। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यसपटक नयाँ स्वरूप र थप टोलीहरूको सहभागितासहित हुँदैछ।
फिफाले यस संस्करणदेखि विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याएको छ। टोली संख्या बढेसँगै प्रतियोगिताको अवधि र खेल संख्या पनि विस्तार गरिएको छ। यसपटक विश्वकप ३९ दिनसम्म चल्नेछ भने कुल १०४ खेल खेलाइनेछन्। सहभागी ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरिएको छ। एदेखि एलसम्मका प्रत्येक समूहमा चार–चार टोली रहनेछन्। समूह चरणका खेलहरू जेठ २८ गतेदेखि असार १३ गतेसम्म सञ्चालन हुनेछन्। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा स्थान बनाउनेछन्।
नयाँ ढाँचाअनुसार पहिलो पटक राउन्ड अफ ३२ समावेश गरिएको छ, जसका खेलहरू असार १४ देखि १९ गतेसम्म हुनेछन्। राउन्ड अफ ३२ बाट विजयी हुने १६ टोलीले राउन्ड अफ १६ मा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै उपाधिका लागि अन्तिम भिडन्त हुनेछ। तालिकाअनुसार राउन्ड अफ १६ का खेल असार २० देखि २३ गतेसम्म, क्वार्टरफाइनल असार २५ देखि २७ गतेसम्म तथा सेमिफाइनल असार ३० र ३१ गते हुनेछ। तेस्रो स्थानका लागि साउन २ गते खेल हुनेछ भने विश्वकपको फाइनल साउन ३ गते आयोजना गरिनेछ। प्रतियोगिताको साविक विजेता दक्षिण अमेरिकी टोली अर्जेन्टिना हो, जसले यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।