काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा सडक स्तरोन्नति एवं मर्मत कार्यका कारण वि.पि. राजमार्गसहित पाँच प्रमुख सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार सम्भावित जोखिम न्यूनीकरण र निर्माण कार्यलाई तीव्रता दिनका लागि ती सडकहरूमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
काभ्रेपलान्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्ड (वि.पि. राजमार्ग) मा सम्भावित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जेठ २२ गतेदेखि नै लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन बेलुका १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म यस खण्डमा सम्पूर्ण सवारी साधन चलाउन निषेध गरिएको छ।
यसैगरी, पाँचथरको याङवरक गाउँपालिका–२ दोभानस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएको छ। जेठ ८ गते मेवा खोलामा निर्माणाधीन पक्की पुल माथिबाट आएको ढुङ्गा, माटो र पानीसहितको भीषण बाढीले बगाएपछि उक्त सडक खण्डमा आवगमन पूर्ण रूपमा थुनिएको हो। यता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ र ४ स्थित महालक्ष्मी खोला क्षेत्रमा कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्डको करिब १०० मिटर सडक ढलान गर्ने कार्य सुरु भएकाले जेठ १५ गतेदेखि झन्डै एक महिनाका लागि बाटो बन्द गरिएको छ। उक्त मार्ग भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा सिस्नेरी–दक्षिणकालीको बाटो हुँदै गन्तव्यतर्फ पठाइने व्यवस्था मिलाइएको छ।
काठमाडौँ र मकवानपुरलाई जोड्ने सतुङ्गल–चित्लाङ र थानकोट–चित्लाङ दुवै सडक खण्डहरू पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्। जेठ १६ गते काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै ठुलो पहिरो खसेपछि सतुङ्गल–चित्लाङ सडक खण्ड एक महिनाका लागि बन्द गरिएको छ। त्यसैगरी, थाहा नगरपालिका–९ चित्लाङस्थित थानकोट–चित्लाङ सडक सुधार तथा निर्माण कार्य भइरहेकाले दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै जेठ १७ गतेदेखि जेठ २९ गतेसम्मका लागि पानीघट्ट देखि चित्लाङ बजारसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस क्षेत्रका यात्रु तथा सवारी साधनहरूलाई पालुङ–नौबिसे र मार्खु–कुलेखानीको वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
