काठमाडौँ। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो। ओमानलाई सानो योगफलमा रोक्न नेपालका बलरहरू प्रभावशाली देखिए। करण केसीले चार ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई(दुई विकेट हात पारे। सन्दीपले १९ रन खर्चिँदा सोमपालले आफ्नो चार ओभरको स्पेलमा दुई विकेट झारे। यस्तै, साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिएर टोलीको सफलतामा योगदान गरे। ओमानका कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रनको योगदान दिए। जुबैर अल बालुशीले २२ तथा अब्दुल जलीलले १६ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अब फाइनल यात्रा तय गर्न नेपालले ९५ रनको लक्ष्य पछ्याउनेछ।