भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस.जयशंकरसँगको उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत सीमा विवादको विषय नउठाएको खुलेको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार दुई देशबीच व्यापार, आर्थिक सहकार्य, सीमापार कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, खेलकुदमार्फत जनस्तरको सम्बन्ध र बहुपक्षीय सहकार्यबारे विस्तृत छलफल भए पनि सीमा समस्याबारे कुनै चर्चा उल्लेख गरिएको छैन।
नेपाल–भारत सम्बन्धमा कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विषय लामो समयदेखि संवेदनशील मुद्दाका रूपमा रहँदै आएका छन्। तर कूटनीतिक तहको पछिल्लो वार्तामा ती विषय ओझेलमा पर्नुले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएको छ।
दूतावासको विज्ञप्तिअनुसार भेटवार्तामा दुई देशबीच पी–टु–पी क्रस बोर्डर पेमेन्ट प्रणाली सञ्चालनमा ल्याउने, भारतको सहयोगमा निर्माण भएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना हस्तान्तरण गर्ने तथा काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया भाषिणी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म निर्माणसम्बन्धी समझदारी आदानप्रदान भएका छन्।
दुई देशबीच सम्बन्ध सुदृढ बनाउने र सहकार्य विस्तार गर्ने विषयमा जोड दिइए पनि नेपाली जनचासोसँग प्रत्यक्ष जोडिएको सीमा विवादबारे मौनता कायम रहनुले कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।