काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगैसँगै राखेर सम्बोधन गरेको बताएका छन् ।
जलवायु परिवर्तन र वातावरण विनासले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्दालाई सँगसँगै राखेर समाधन खोजिएको उनले बताए ।
‘जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन । पर्यटन र सम्पदालगायतसँग जोडिएको छ’, सचिव निरौलाले भने ।
विश्व वातावरण दिवसका सन्दर्भमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित संस्था साथसाथैले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा सहभागी जलवायु विज्ञ तथा वातावरण विदहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्यापी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
‘समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारा साथ मनाइएको वातावरण दिवसको अवसर पारी साथसाथैले हिमालय र वातावरण सम्मेलन २०२६ आयोजना गरेको हो ।
यूएनडीपी नेपालको साझेदारीमा आयोजित कार्यक्रममा बोल्दै सचिव निरौलाले जलवायु परिवर्तनले वातावरणमा परेको असर र मानवीय जीवनशैलीमा पुर्याएको नकारात्मक प्रभावका बारेमा साथसाथै जस्ता संस्था, सञ्चारकर्मी लगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘जलवायु परिवर्तनको समस्याका विषयहरु मिडियामार्फत आउनु पर्याे, जनताका समस्या र जनसरोकारका विषयमा यथार्थपरक कुरा सञ्चार माध्यममा समेटिनु पर्छ, जसले नीतिगत व्यवस्थाका लागि सहयोग पुग्छ’, उनले भने ।