काठमाडौँ । उखु बिक्री गरेबापत पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीका किसानहरूले शुक्रबार प्रदर्शन गरेका छन्। किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको हो।
प्रदर्शनपछि सहभागीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्। आन्दोलनको नेतृत्व सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गरेका थिए। प्रदर्शनका क्रममा किसानहरूले उखु उद्योगहरूबाट वर्षौंदेखि रोकिएको रकम तत्काल उपलब्ध गराउन माग गर्दै नाराबाजी गरेका थिए।
समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेको, ऋणको भार बढेको तथा दैनिक जीवनयापनसमेत कठिन बन्दै गएको उनीहरूको गुनासो छ। कृषि उत्पादनको लागत निरन्तर बढ्दै गए पनि आफूहरूले मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य र भुक्तानी नपाउनु अन्यायपूर्ण भएको किसानहरूको भनाइ छ। उनीहरूले असार मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। आवश्यक परे जिल्ला तथा केन्द्रस्तरमा समेत दबाबमूलक आन्दोलन सञ्चालन गरिने उनीहरूले बताएका छन्। सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्लाका उखु किसानहरू लामो समयदेखि उद्योगहरूबाट पाउनुपर्ने रकमको प्रतीक्षामा छन्। पटक–पटक आन्दोलन र वार्ता भए पनि किसानको समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन।