काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गरिएको छानबिन सम्पन्न गर्दै छानबिन समितिले ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीले सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाइएको जानकारी दिएका छन्। उनका अनुसार अब आवश्यक निर्णय र प्रक्रिया सम्बन्धित निकायबाट अघि बढाइनेछ। समितिले गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका आरोपबारे सम्बन्धित पक्षसँग बुझ्ने, सम्पत्ति विवरण केलाउने र विस्तृत अध्ययन गर्ने कार्य गरेको थियो। मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
गुरुङमाथि व्यवसायी दीपक भट्टसँगको साझेदारी र सेयर लुकाएको आरोप लागेपछि विवाद चुलिएको थियो। सोही कारण उनले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। त्यसअघि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर तथा सम्पत्तिबारे प्रश्न उठेपछि उनी विवादमा तानिएका थिए। उनले राजीनामासँगै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। छानबिन प्रतिवेदन बुझाइएपछि अब सम्बन्धित निकायले आवश्यक निर्णय गर्ने बताइएको छ।