काठमाडौँ। उत्तर अमेरिकामा आयोजना हुने आगामी फिफा विश्वकप २०२६ को सरगर्मी तीव्र बन्दै गएको छ। विश्व फुटबलको महाकुम्भ मानिने यो प्रतियोगिता अब केही दिनमै सुरु हुँदैछ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू तीनै देशका विभिन्न शहरहरूमा आयोजना हुनेछन्। तर यसपटकको विश्वकपमा चार पटकको विश्वविजेता इटाली सहभागी नहुने भएको छ। युरोपेली छनोट चरण पार गर्न नसकेपछि इटाली लगातार तेस्रो पटक विश्वकपको फाइनल चरणमा पुग्न असफल भएको हो।
इटालीको अनुपस्थितिले विश्व फुटबलमा ठूलो चर्चा सिर्जना गरेको छ। टोलीका प्रमुख खेलाडीहरूमा रहेका लेसान्द्रो बास्तोनी र गोलकिपर जियानलुइजी डोनारुम्मा जस्ता स्टार खेलाडीहरू यसपटक विश्वकपमा देखिने छैनन्। विश्वकप इतिहासमा ब्राजिलपछि दोस्रो सफल टोली मानिने इटालीले अहिलेसम्म १८ पटक प्रतियोगितामा सहभागिता जनाएको छ। सन् २००६ मा चौथोपटक उपाधि जितेपछि टोली २०१० र २०१४ मा समूह चरणमै बाहिरिएको थियो। त्यसपछि लगातार दुई संस्करणमा छनोट हुन नसकेको इटाली २०१८, २०२२ हुँदै २०२६ को संस्करणमा समेत स्थान बनाउन असफल भएको हो। पछिल्ला वर्षहरूमा इटालीमा फुटबलभन्दा अन्य खेल, विशेषगरी टेनिसप्रति आकर्षण बढ्दै गएको विश्लेषण पनि गरिएको छ।