काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वातावरण संरक्षणलाई नागरिक, सरकार तथा सम्पूर्ण सरोकारवालाको साझा दायित्वका रूपमा ग्रहण गर्दै दिगो भविष्य निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्।
विश्व वातावरण दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले स्वच्छ, हराभरा र दिगो वातावरण निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका हुन्। उनका अनुसार वातावरण संरक्षण प्रकृतिप्रतिको जिम्मेवारी मात्र नभई भावी पुस्ताप्रतिको उत्तरदायित्व पनि हो। आङ्देम्बेले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा बढ्दो प्रदूषणका कारण विश्व समुदायले गम्भीर चुनौती सामना गरिरहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि साझा पहल आवश्यक रहेको बताए।
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले हिमाल, पहाड, तराई, नदी, वन तथा जैविक विविधताको संरक्षणसँगै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु समयको आवश्यकता भएको धारणा राखे। विकास निर्माणका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभावलाई न्यूनतम बनाउने र दिगो विकासका मान्यतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले वातावरणमैत्री जीवनशैली अपनाउन सबैलाई प्रेरित गरेका छन्।आङ्देम्बेले घर, समुदाय तथा कार्यस्थलबाटै वातावरण संरक्षण अभियानलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वच्छ, सुरक्षित र दिगो भविष्य निर्माणमा प्रतिबद्ध हुन सबैलाई आग्रह गरेका छन्।