काठमाडौँ। हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आइपुगेका छन्।
एक साताको नेपाल भ्रमणका लागि आएका उनीहरू चीनको शेन्जेनबाट सिधै काठमाडौं अवतरण गरेका हुन्। पर्यटकहरूको आगमनसँगै नेपालको पर्यटन क्षेत्रले थप उत्साह पाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई पाण्डा टुर्स एण्ड ट्राभल्सले नेपाली मौलिक संस्कृति झल्किने परम्परागत पोशाक, सांस्कृतिक प्रस्तुति तथा बाजागाजासहित विशेष स्वागत गरेको थियो। नेपाल बसाइका क्रममा चिनियाँ पर्यटकहरूले देशका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न स्थानहरूको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। पर्यटन व्यवसायीहरूले चीनबाट सिधा हवाई सम्पर्क विस्तार भएसँगै चिनियाँ पर्यटकको आगमन बढ्ने र यसले नेपालको पर्यटन उद्योगलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।