काठमाडौँ । अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा सुदृढ गर्ने उद्देश्यसहित दक्षिण तथा दक्षिण–पूर्वी एसियाको ऊर्जा पूर्वाधार विकासमा १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। अमेरिकी राजदूत सेर्गियो गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त कर्पोरेशन (डीएफसी)ले ऊर्जा पूर्वाधार विस्तारका लागि विशेष लगानी प्लेटफर्म स्थापना गर्ने निर्णय गरेको बताएका छन्।
राजदूत गोरका अनुसार उक्त पहलमार्फत अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गरी दक्षिण तथा दक्षिण–पूर्वी एसियामा तरलीकृत प्राकृतिक ग्यास एलएनजी लगायत ऊर्जा क्षेत्रका महत्वपूर्ण पूर्वाधार निर्माणमा लगानी गरिनेछ। यो डीएफसीको इतिहासमै सबैभन्दा ठूलो एकल परियोजना लगानीमध्ये एक भएको जनाइएको छ। डीएफसीले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी पूर्वाधार लगानी कम्पनी स्क्वायर्ड क्यापिटल सँगको सहकार्यमा नयाँ लगानी प्लेटफर्म स्थापना गरिनेछ। यसले ऊर्जा आपूर्ति प्रणालीलाई थप भरपर्दो र दिगो बनाउँदै क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखेको छ। संस्थाले हालै कुल २.५ अर्ब अमेरिकी डलर बराबरका रणनीतिक लगानी परियोजनालाई स्वीकृति दिएको पनि जनाएको छ। ती लगानी अमेरिकी आपूर्ति शृङ्खला मजबुत बनाउने, ऊर्जा निर्यात विस्तार गर्ने, क्षेत्रीय स्थायित्व प्रवर्द्धन गर्ने तथा आर्थिक साझेदारी बढाउने उद्देश्यमा केन्द्रित रहने बताइएको छ।
डीएफसीका अनुसार दक्षिण तथा दक्षिण–पूर्वी एसियाका धेरै देशमा पर्याप्त ऊर्जा पूर्वाधारको अभावका कारण ऊर्जा सुरक्षासम्बन्धी चुनौती बढ्दै गएको छ। यसले ऊर्जा मूल्यमा अस्थिरता ल्याउनुका साथै औद्योगिक विकासमा समेत असर पुर्याएको छ। नयाँ लगानी प्लेटफर्मले यस्ता चुनौती न्यूनीकरण गर्नुका साथै अमेरिकी ऊर्जा निर्यात विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकारअन्तर्गतको विकास वित्त संस्था डीएफसीले निजी क्षेत्रको लगानी परिचालन गर्दै आर्थिक विकास, पूर्वाधार विस्तार तथा अमेरिकी विदेश नीतिका रणनीतिक उद्देश्यहरूलाई अघि बढाउँदै आएको छ।