काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणलाई स्पष्ट कार्ययोजनासहित तत्काल काममा जुट्न निर्देशन दिएका छन्।
प्राधिकरणमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा समावेश गरिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले कार्यान्वयनका क्रममा देखा पर्ने नीतिगत तथा प्रशासनिक समस्याको समाधानका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आयोजनाको नेतृत्व र जिम्मेवारी भने प्राधिकरण व्यवस्थापनकै हुने स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्षमा प्रसारण लाइन, सबस्टेशन तथा विद्युत पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता दिँदै पर्याप्त बजेट व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयमै लक्ष्य हासिल हुने गरी विस्तृत कार्ययोजना बनाएर मातहतका निकाय परिचालन गर्न आग्रह गरे। उनले प्राधिकरणका अधिकारीहरूलाई आफ्नो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्दै समस्याको पहिचान मात्र नभई समाधानका व्यावहारिक प्रस्ताव पनि अघि सार्न सुझाव दिए।
“यस वर्ष प्राधिकरणले मागअनुसारको बजेट प्राप्त गरेको छ। अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्नु प्राधिकरणको मुख्य जिम्मेवारी हो,” मन्त्री श्रेष्ठले भने। मन्त्री श्रेष्ठले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै आगामी वर्षका लागि महत्वका आयोजनाको स्पष्ट छनोट गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, विद्युत महसुल बक्यौता असुलीलाई नियमित कार्यसूचीका रूपमा अघि बढाउन र त्यसको निरन्तर अनुगमन गर्न पनि उनले निर्देशन दिए।
संस्थागत सुशासन सुदृढीकरण, परिणाममुखी कार्यसम्पादन तथा प्राथमिकताका आयोजना छनोटका विषयमा उपकार्यकारी निर्देशकहरूलाई निसंकोच सुझाव र प्रस्ताव पेश गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले विगतका बहसभन्दा आगामी कार्यदिशामा केन्द्रित हुनुपर्ने बताए। छलफलका क्रममा उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारीअन्तर्गत सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै, बजेट कार्यान्वयनलाई थप व्यवस्थित बनाउन आगामी असार १५ गतेभित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको जानकारी पनि दिएका थिए।