काठमाडौं । सरकारले सम्पर्कविहीन निजामती कर्मचारीको खोजी सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती)मा व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि सूचना जारी गरेको छ ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती)मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ ।
