काठमाडौं । जोतिरहेको गोरुलाई चरम यातना दिएर निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रहरीले प्युठानका जालिराम थापामगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्युठानको गौमुखी गाउँपालिका– १ बस्ने ३६ वर्षीय थापामगरलाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । खेतमा जोत्दै गरेको गोरु हिँड्न नसकेर बसेपछि खाल्डो बनाएर नाकमुख माटोमा गाडेर चरम यातना दिएको भिडियो फेसबुक र टिकटकमा सार्वजनिक भएको थियो ।
प्रहरीले थापामगरमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरेको नेपाल प्रहरीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आरोपित थापामगरविरुद्ध उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरको आरोप लगाइएको छ ।
