काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा। धवलशम्शेर राणासहित १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित कार्यक्रममा उनीहरूले राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै डा। राणाले आफूहरू बाध्य भएर पार्टी छाड्नुपरेको बताए। उनले यसलाई खुसीको नभई दुःखद निर्णयका रूपमा चित्रण गर्दै लामो समयदेखि उठाउँदै आएका राजनीतिक मूल्य, मान्यता र एजेन्डा पार्टीभित्रैबाट अघि बढाउन नसकिएको उल्लेख गरे। उनले भने, हामीले आफ्नै घर छाड्नुपर्ने अवस्था आयो। यो खुसीको होइन, दुःखको दिन हो। जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब त्यो घर छाडेर नयाँ घर बनाउनुपर्छ। डा. राणाले पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन समय रहेको भन्दै पार्टीलाई सही दिशा दिन, संगठन सुधार गर्न र राप्रपालाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न प्रयास गरे पनि ती प्रयास सफल हुन नसकेको दाबी गरे। उनले नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै अब आफूहरू नयाँ राजनीतिक मार्गतर्फ अघि बढ्ने संकेत समेत दिएका छन्।