काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको “नेपालले पनि भारतका केही ठाउँ मिचेको रहेछ” भन्ने अभिव्यक्ति हटाइनु नपरेसम्म विरोध जारी रहने नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बताएका छन्।
बिहीबार संसदीय मामिलासम्बन्धी पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै महरले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाए। उनका अनुसार कुनै पनि सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको स्वीकार गर्ने खालको अभिव्यक्ति दिनु उपयुक्त हुँदैन। उनले उक्त भनाइलाई देश र जनताप्रतिको गम्भीर गल्तीको रूपमा चित्रण गर्दै संसद्को अभिलेखबाट हटाइनुपर्ने एमालेको माग रहेको स्पष्ट पारे।
महरले भने, “नेपालले पनि भारतका केही ठाउँ मिचेको रहेछ भन्ने अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही हो। यो देश र जनताप्रतिको गम्भीर गल्ती हो। विश्वका कुनै पनि सार्वभौम मुलुकका प्रधानमन्त्रीले यस्तो कुरा स्वीकार गर्दैनन्। त्यसैले यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ भन्ने हाम्रो माग हो।” उनले सदनको मर्यादा कायम राख्ने जिम्मेवारी प्रधानमन्त्री र सभामुख दुवैको भएको उल्लेख गर्दै त्यसमा कमजोरी भए संसद्को कामकाज र औचित्यमाथि नै प्रश्न उठ्ने बताए। उनले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय नभएसम्म सदनको कार्यसूची अघि बढाउनु उचित नहुने भन्दै एमालेले यही विषयमा विरोध जनाएको पनि बताए।