काडमाडौँ। नेपाली चलचित्र मालती मंगले को अन्तर्राष्ट्रिय प्रदर्शन अभियानका लागि निर्माता तथा चर्चित गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् ।
चलचित्रको विश्वव्यापी प्रदर्शनमा प्रत्यक्ष सहभागिता जनाउने उद्देश्यसहित ढकाल पहिलो चरणको भ्रमणमा अमेरिका गएका हुन् । यस चरणमा उनले अमेरिका, क्यानडा र अस्ट्रेलियामा हुने विशेष कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् । त्यसपछि युरोपलगायत अन्य देशहरूमा पनि चलचित्र प्रदर्शनको योजना रहेको जनाइएको छ । चलचित्र प्रदर्शनसँगै विभिन्न स्थानमा दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम तथा रामकृष्ण ढकालको साङ्गीतिक प्रस्तुति पनि आयोजना गरिनेछ ।
सार्वजनिक तालिकाअनुसार जुन ५ मा अमेरिकाको बोस्टन र जुन ६ मा न्यु ह्याम्पसायरमा चलचित्र प्रदर्शनसहित सांगीतिक कार्यक्रम हुने तय भएको छ । त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो सातामा क्यानडाको टोरन्टोमा विशेष प्रदर्शन गरिनेछ । त्यसैगरी, जुलाई ४ मा अस्ट्रेलियाको सिड्नीमा चलचित्रको ‘रेड कार्पेट प्रिमियर’ आयोजना गरिनेछ । अस्ट्रेलियाका अन्य शहरहरूमा समेत प्रदर्शनलाई निरन्तरता दिइने निर्माण पक्षले जनाएको छ । युरोपका विभिन्न मुलुकहरूमा हुने प्रदर्शन कार्यक्रममा कार्यकारी निर्माता सागर ज्ञवाली सहित अन्य कलाकारहरूको पनि सहभागिता रहने बताइएको छ ।
रानी फिल्म्स को ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशक पाण्डेयकै रहेको छ भने पटकथा र संवाद लेखनमा संयोग गुरागाईँ को सहकार्य रहेको छ । चलचित्रमा विजय, वर्षा र मेक्समसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ । प्राविधिक पक्षतर्फ चलचित्रमा महेश पौडेल को छायाङ्कन, रोमी मोजेज को सम्पादन तथा कृष्ण भण्डारी को रङ्ग संयोजन रहेको छ । साथै, सुजिल कर्माचार्य ले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने डिकेश खड्गी ले ध्वनि मिश्रणको काम सम्हालेका छन् ।