काठमाडौं । अष्ट्रेलियामा क्रियाशील सामाजिक संस्था बाग्लुंङ समाज अष्ट्रेलियाले आज २३ मे मा ‘बाग्लुंङ सांगीतिक साँझ २०२६’ को आयोजना गर्दैछ ।
जसको तयारी पुरा भएको आयोजकले जनाएको छ।
न्यु साउथ वेल्सको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुने यस कार्यक्रमलाई सिड्नीको ऐतिहासिक दोहोरी साँझका रूपमा हेरिएको छ।
नेपाली लोकसंगीत, गजल र दोहोरीको माध्यमबाट प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक कला र संस्कृतिसँग जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यी कलाकारले दिनेछन् बेजोड प्रस्तुति
उक्त सांगीतिक साँझमा अत्यन्त लोकप्रिय गजल तथा भर्सटाइल गायक थानेश्वर गौतम, सर्वप्रिय लोक गायक तथा सर्जक बिष्णु खत्री,लोकप्रिय नेपाली कलाकार रेशम निर्दोष, लोकप्रिय गायिका निशा केसी,लोकप्रिय नेपाली कलाकार सुवास खत्री, लोकप्रिय दोहोरी गायक, भिमु गुरूङ,झलक सञ्जीतमले आ-आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ।
नेपाली लोकसंगीत, गजल, दोहोरी र जीवन्त सांगीतिक प्रस्तुतिले भरिपूर्ण यो कार्यक्रम अष्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि आफ्नो संस्कृति, जरा र पहिचानसँग पुनः जोडिने एक अनुपम अवसर बन्नेछ।
बेलुकी ५ः३० देखि सुरू हुँदै
आयोजकका अनुसार कार्यक्रम बेलुकी ५ः३० देखि राति १०ः३० सम्म सञ्चालन हुनेछ भने सहभागीका लागि ६० डलर (वयस्क) र ३० डलर (बालबालिका) को टिकट दर निर्धारण गरिएको छ, जसमा रात्रिकालीन भोजनको समेत व्यवस्था गरिएको छ।
कार्यक्रमलाई इकोबिल्ड प्रोजेक्ट्स, बीएनबी होम लोन्स, इन्स्टा एजुकेशन एण्ड भिसा सर्भिसेज लगायतका विभिन्न व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन्। उक्त कार्यक्रमको मिडिया पाटनरमा नेपाली पब्लिक डटकम पनि रहेको छ ।
प्रवासमा नेपाली भाषा, संगीत र पहिचानमा जोड दिँदै
विशेषगरी उक्त कार्यक्रमले प्रवासमा रहेर पनि नेपाली भाषा, संगीत र पहिचानको संरक्षण गर्ने मुख्य उदेश्य हो ।
सन् २००६ मा स्थापना भएदेखि नै बाग्लुंङ समाजले अष्ट्रेलियामा नेपाली भाषा, संगीत र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
