काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन्। उनले आफ्ना प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग बिहीबार हिमालपारिको जिल्ला मुस्ताङमा लगनगाँठो कसेकी हुन्। कोबाङ गाउँस्थित लज थासाङ भिलेजमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका सीमित पारिवारिक सदस्य र निकट आफन्तहरूको मात्र उपस्थिति रहेको थियो।
विवाहका केही मनमोहक तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै शिल्पाले प्रकृतिको काखमा विवाह गर्ने आफ्नो सपना पूरा भएको बताएकी छन्। उनले वैवाहिक क्षणलाई सपनाजस्तै सुन्दर भन्दै जीवनको यो पल सबैभन्दा अविष्मरणीय सम्झना बनेको उल्लेख गरेकी छन्। सन् २०१९ मा चलचित्र ‘द ब्रेकअप’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी शिल्पाले ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘फूलबारी’ र ‘परस्त्री’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन्।
शिल्पा पछिल्लो पटक आफैँले निर्माण गरेको चलचित्र ‘देवी’ मा देखिएकी थिइन्। यद्यपि सो चलचित्र व्यावसायिक रूपमा सफल हुन नसके पनि उनको अभिनयको सधैँ चर्चा हुने गरेको छ। केही म्युजिक भिडियोहरूमा समेत काम गरिसकेकी शिल्पा चाँडै नै नयाँ चलचित्र ‘जलाकी’ मार्फत दर्शकमाझ देखिँदैछिन्। नयाँ जीवनको सुरुवातसँगै उनलाई सामाजिक सञ्जालमा शुभचिन्तक र चलचित्रकर्मीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।
-1778227198.jpg)