काठमाडौँ। चलचित्र ‘महाराजधिराज’ को मंगलबार बिहान काठमाडौंस्थित बंगलामुखी मन्दिरमा विधिपूर्वक शुभमुहूर्त गरिएको छ। शंखध्वनि र पञ्चेबाजासहित सुरु गरिएको पूजा बिहान ८ बजेदेखि ११ः११ बजेसम्म सञ्चालन गरिएको थियो।
शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति रहेको थियो। निर्देशक परिच्छेद सेनसहित अन्य कलाकार तथा प्राविधिक टोली पनि कार्यक्रममा सहभागी भएका थिए। यो चलचित्र निर्देशक सेनको महत्वाकांक्षी (ड्रिम) प्रोजेक्टका रूपमा लिइएको छ। चलचित्रको छायांकन यही महिनाको २५ गतेदेखि सुनसरीबाट सुरु हुने जनाइएको छ।
प्रारम्भिक छायांकन सुनसरीको श्रीलंका टापुमा एक हप्तासम्म हुनेछ भने त्यसपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा करिब ७० दिनसम्म छायांकन गरिनेछ। छायांकन नबराज थापाले गर्नेछन्। परिच्छेद सेनको निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि।सी, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ।
त्यस्तै, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटासहित ठूलो कलाकार टोली यस चलचित्रमा देखिनेछ। करिब ८० जना कलाकार समेटिएको यस परियोजनामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायतको पनि सहभागिता रहनेछ। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा तथा लेखन निर्देशक सेन स्वयंले गरेका हुन्।