काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘अक्षरा’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शुक्रबार काठमाडौँको गुह्येश्वरी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै मुख्य कलाकारका रूपमा अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको जोडी बाँधिने जानकारी दिइएको हो। फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गरेकी पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी र प्रतिभाशाली अभिनेता सुशीलको यो सहकार्यलाई फिल्मी वृत्तमा निकै चासोका साथ हेरिएको छ।
मुहूर्त समारोहमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुशील र न्यान्सीको पहिलो मुहूर्त सट लिइएको थियो। उक्त सटको निर्देशन मधुसुदन भट्टराईले गरेका थिए भने लव प्याकुरेलले क्ल्याप बजाएका थिए। कार्यक्रममा शंकर महर्जनले ‘रोल’ र दिनेश महराले क्यामेराको ‘स्वीच अन’ गरी छायांकनको संकेत गरेका थिए भने वितरक दीपक दंगालले नरिवल फुटाउँदै फिल्मको सुखद शुभारम्भ गरेका थिए।
क्षिति बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, गीता अधिकारी, विरेन्द्र कुशवाह लगायतको सशक्त अभिनय रहनेछ। उग्रसेन र सुग्रसेन ढुंगानाले निर्माण गर्ने यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापा काजी रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्ममा दीपेन बस्न्यातको छायांकन, कर्णराज गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ। फिल्मको वितरण नेशनल सिने ग्रुपका दीपक दंगालले गर्ने निश्चित भएको छ।