सर्लाही । मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगरमा सम्पन्न ’पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा चलचित्र ’मोहर’ ले उत्कृष्ट फिल्मको उपाधि हात पारेको छ। सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजित तीन दिने महोत्सवमा मौलिक र ग्रामीण कथावस्तुमा आधारित १७ वटा चलचित्रहरू प्रदर्शन गरिएका थिए। महोत्सवमा नाजीर हुसेन ले ’गुन्युचोलो’ बाट उत्कृष्ट अभिनेता र सुरक्षा पन्त ले ’कोशेढुंगा’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्न सफल भए।
महोत्सवको समापन समारोहमा विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरियो, जसमा ओम प्रतीक गुरूङ लाई ’मोहर’ का लागि उत्कृष्ट निर्देशक र समुन्द्र भट्ट तथा नाजीर हुसेन लाई ’गुन्युचोलो’ का लागि उत्कृष्ट पटकथाको अवार्ड प्रदान गरियो। प्राविधिक विधा तर्फ ’कोशेढुंगा’ का लागि नहकुल खड्का उत्कृष्ट सम्पादक र बाबु श्रेष्ठ उत्कृष्ट छायाँकार घोषित भए। त्यसैगरी, आदिवासी चलचित्र विधामा किरण राई निर्देशित ’नाक्छोंग’ उत्कृष्ट ठहरियो भने छोटो चलचित्र तर्फ निर्मल पौडेल निर्देशित ’निलो आकाश’ ले सफलता प्राप्त ग¥यो। जुरी अवार्ड मिलन तामाङ (माइतीघर) र इन्करेजमेन्ट अवार्ड मन्जिल कुमार (कोशेढुंगा) लाई प्रदान गरियो।
चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल परिसरमा आयोजित यो महोत्सव मधेश प्रदेशकै पहिलो संस्करण हो, जसले नेपाली सिनेमाको प्रवद्र्धन र स्थानीय पर्यटनमा महत्त्वपूर्ण टेवा पु¥याएको छ। कार्यक्रममा सांस्कृतिक झाँकी, विभिन्न जातजातिका परम्परागत पहिरनको प्रदर्शनी र मधेशका कथा एवं पर्यटनका विषयमा विशेष संवाद कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि र चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। सोही अवसरमा नाढीमन तालको विषयमा लेखिएको पुस्तकको विमोचन समेत गरिएको थियो।