काठमाडौं । सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत चलचित्र ’परालको आगो’ ले बक्स अफिसमा सुखद् कमाइ गरिरहेको छ। प्रदर्शनको केही दिनमै फिल्मको व्यापार २ करोड रुपैयाँ नाघेको छ। निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार बुधबारसम्म फिल्मले नेपालभरबाट २ करोड ११ लाख रुपैयाँभन्दा बढीको कमाइ गरेको हो।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो चलचित्र साहित्यकार गुरूप्रसाद मैनालीको चर्चित कृति ’परालको आगो’ मा आधारित छ। फिल्मले दर्शकको सकारात्मक साथ पाइरहेकाले आगामी दिनमा पनि व्यापार अझ बढ्ने निर्माण टिमले अपेक्षा राखेको छ।
व्यापारिक सफलतासँगै दर्शकको प्रतिक्रिया बुझ्न निर्माण टिम यतिबेला सक्रिय देखिएको छ। राजधानीका हलहरू पछि टिम मोफसलका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ। यसै क्रममा बुधबार फिल्मको टिमले नेपालगन्ज पुगेर त्यहाँका हलहरूमा दर्शकसँग भेटघाट गरेको छ।
