काठमाडौं । विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यो उत्सवले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा पुनः स्थापित गर्ने लक्ष्य राखेको छ।
बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यस ऐतिहासिक उपलब्धिको स्मरण गर्दै वर्षभरि सञ्चालन गरिने विविध कार्यक्रमहरूबारे जानकारी दिइएको हो। सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनास्लु हिमा सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए ।
ल्होत्से हिमाल सन् १९५६ मा नै स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले ल्होत्से शिखरमा पहिलो पटक पाइला टेकेका थिए। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी समेत गरिएको छ।
नेपाल पर्वतारोहण संघका दोस्रो उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम जुबिलीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूका परिवारलाई विशेष सम्मान गरिने जानकारी दिए । पर्यटन बोर्डका अनुसार यो उत्सवले साहसिक पर्यटनका साथै नेपालको मौलिक सांस्कृतिक पर्यटनलाई पनि विश्वबजारमा प्रवद्र्धन गर्नेछ। ७० वर्षअघिको त्यो साहसिक यात्रालाई सम्मान गर्दै आयोजना गरिने यी कार्यक्रमले नयाँ पुस्ताका पर्वतारोहीहरूलाई समेत थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।