काठमाडौं । पाटन उच्च अदालतले चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मीहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। अभिव्यक्ति स्वतन्त्रता र कलाको निर्वाध प्रदर्शन गर्न पाउने अधिकारको रक्षाका लागि भन्दै उनीहरूले सांकेतिक विरोध जनाएका हुन्।
प्रदर्शनमा चलचित्र क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँ, खगेन्द्र लामिछाने, निर्देशकहरू मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतले प्लेकार्डसहित ऐक्यबद्धता जनाएका थिए। त्यस्तै, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले पनि कलामाथि हुने यस्ता अवरोधले सिर्जनात्मकता मर्ने भन्दै चिन्ता व्यक्त गरे।
यम थापाद्वारा निर्देशित चलचित्र ‘लालीबजार’ वादी समुदायको संघर्षपूर्ण कथामा आधारित छ। तर, चलचित्रमा प्रयोग भएका केही शब्दहरूले आफ्नो समुदायको आत्मसम्मानमा चोट पु¥याएको भन्दै रोशनी नेपालीले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्।
सोही मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेको हो। फिल्म १८ वैशाखदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा थियो।
विवादका बीच चाखलाग्दो पक्ष के छ भने, सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यो फिल्मलाई विस्तृत अध्ययनपछि ’युनिभर्सल’ (सबैले हेर्न मिल्ने) प्रमाणपत्र दिइसकेको छ। राज्यको आधिकारिक निकायले अनुमति दिइसकेको अवस्थामा अदालतबाट रोक लगाइनुले कानुनी र व्यावहारिक जटिलता थपेको चलचित्रकर्मीहरूको तर्क छ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले समाजको पिँधमा रहेका समुदायको कथालाई पर्दामार्फत न्याय दिन खोजेको निर्माण पक्षको दाबी छ। अब २२ वैशाखको अदालतको अर्को आदेशले फिल्मको भविष्य तय गर्नेछ।