काठमाडौँ । कलाकार बिनिता कार्की अहिले चलचित्र ‘पीआर’ मार्फत चर्चामा आएकी छिन्। मोडलिङबाट आफ्नो करियर सुरु गरेकी उनले अहिले अभिनय क्षेत्रमा सक्रियता बढाउँदै नेपाली चलचित्र उद्योगमा स्थान बनाउँदै गएकी छिन्।
अष्ट्रेलियामा बस्ने नेपाली युवाको जीवन, संघर्ष र सपनालाई आधार बनाएर बनेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान आकर्षित गरिरहेको छ। बिनिता कार्कीले यस फिल्मले विदेशमा रहेका नेपालीहरूको वास्तविक कथा प्रस्तुत गरेको बताएकी छिन्। रेखा थापा, झरना थापा र निरुता सिंहजस्ता चर्चित कलाकारबाट प्रेरित हुँदै हुर्किएकी उनले सानैदेखि अभिनेत्री बन्ने सपना देखेकी थिइन्। शोभित बस्नेत निर्देशित यस फिल्ममा मुख्य भूमिकामा काम गर्न पाउँदा आफू निकै खुसी भएको पनि उनले बताएकी छिन्।