काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लालीबजार’ कानुनी विवादमा तानिएको छ। फिल्मको प्रदर्शन रोक्न माग गर्दै सोमबार उच्च अदालत पाटनमा रिट दायर भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मको कथावस्तुमा आपत्ति जनाउँदै रिट दायर गरेकी हुन्। उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको पुष्टि गर्दै यो मुद्दामा मंगलबारका लागि पेशी तोकिएको जानकारी दिएका छन्।
यम थापा निर्देशित र षट्कोण आर्टसद्वारा निर्माण गरिएको फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाहरूले भोगेको संघर्षको कथामा आधारित छ। आगामी १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्मलाई लिएर समुदायभित्रैबाट कानुनी उपचार खोजिएको हो। यद्यपि, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सोमबार मात्रै उक्त फिल्मलाई प्रदर्शनका लागि ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ।
अदालतमा रिट दायर भएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा र सेन्सर बोर्डले समेत अनुमति दिइसकेको अवस्थामा कानुनी प्रक्रिया अघि बढेपछि निर्माण पक्ष थप दबाबमा परेको छ। अदालतले मंगलबार तोकेको पेशीले फिल्म १८ वैशाखमा निर्धारित समयमै प्रदर्शन हुने वा नहुने भन्ने कुराको टुङ्गो लगाउनेछ।