काठमाडौँ । अभिनेता जितु नेपालद्वारा निर्माण तथा अभिनित बहुप्रतिक्षित कथानक फिल्म ‘आइएम जीतबहादुर’ को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षले एक औपचारिक पोस्टर सार्वजनिक गर्दै आगामी ५ असारदेखि देशभरका सिनेमा हलहरूमा फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकार जितु नेपाल र वर्षा राउतको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ। चरित्रको विविधता र उनीहरूको भावपूर्ण चित्रणले फिल्मको विषयवस्तुलाई थप रोचक बनाएको छ, जसले दर्शकहरूमाझ फिल्मप्रति उत्सुकता जगाएको छ।
सुभेन्दु घोषद्वारा निर्देशित यो फिल्मले गाउँबाट सहर पसेर फिल्मको हिरो बन्न संघर्ष गर्ने एक युवाको कथालाई पर्दामा उतारेको छ। यो फिल्म अभिनेता जितु नेपालको वास्तविक जीवनबाट आंशिक रूपमा प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। आफ्नो संघर्षको यात्रालाई फिल्ममार्फत प्रस्तुत गर्न लागेका जितुको अभिनय यसमा मुख्य आकर्षणका रूपमा हेरिएको छ।
फिल्ममा जितु नेपाल र वर्षा राउतका साथै प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाललगायतका कलाकारहरूको अभिनय रहेको छ। कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।
प्राविधिक रूपमा पनि फिल्मलाई उच्च प्राथमिकताका साथ तयार पारिएको छ। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यस फिल्मको सम्पादन कार्य हालै मुम्बईमा सम्पन्न गरिएको हो। फिल्मको कथा तथा निर्देशन सुभेन्दु घोषले नै गरेका हुन् भने यसलाई आरआर फिल्म्सले वितरण गर्ने जिम्मेवारी पाएको छ।
-1777275366.jpg)