काठमाडौँ । साहित्यकार पुष्पराज पाण्डेयद्वारा लिखित कथासङ्ग्रह ‘किनार’ आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा प्रकाशित उक्त कृति बजारमा समेत उपलब्ध भएको छ।
कार्यक्रममा सहभागी साहित्यकार, समीक्षक तथा अतिथिहरूले कृतिको विविध पक्षबारे चर्चा गर्दै ‘किनार’लाई नेपाली साहित्यका लागि महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरेका छन्। सम्पादक तथा कवि सुभाषचन्द्र भण्डारीले कथासङ्ग्रहमा सामाजिक यथार्थ र मिथकीय आञ्चलिकताको सन्तुलित प्रयोग रहेको उल्लेख गर्दै यसलाई नवीन शैलीको कृति भएको बताए। उनले सुदूरपश्चिमेली भाषा, थारू र डोटेली बोलीको प्रयोगले कथालाई थप मौलिक बनाएको धारणा राखे।
समीक्षक अनुपमा रेग्मीले केही कथामा ‘कथाभित्र कथा’ संरचना देखिनु यसको विशेष आकर्षण भएको बताइन् भने पत्रकार तथा समीक्षक राजेन्द्र बानियाँले कृतिले फरक स्वाद र जीवनका यथार्थ पक्षलाई सरल तर प्रभावकारी रूपमा प्रस्तुत गरेको टिप्पणी गरे। प्रमुख अतिथि प्रा।डा। लक्ष्मण गौतमले कृतिमा भूगोल, भाषा र परिवेश जीवन्त रूपमा चित्रण गरिएको भन्दै पाठकलाई विशेष अनुभूति दिने क्षमता रहेको बताए।
लेखक पुष्पराज पाण्डेयले आफ्नो पहिलो कृति भएकाले केही कमजोरी हुन सक्ने स्वीकार गर्दै पाठक र समीक्षकका सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले आगामी वर्ष उपन्यास प्रकाशन गर्ने योजना समेत सुनाए। कार्यक्रममा प्रकाशक पुष्पराज पौडेलले शिखा बुक्सले गुणस्तरीय साहित्यिक कृतिहरू प्रकाशनमा निरन्तर ध्यान दिँदै आएको उल्लेख गरे। कार्यक्रमको सञ्चालन पत्रकार यज्ञराज जोशीले गरेका थिए।