काठमाडौँ । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को झलक सार्वजनिक गरिएको छ। निर्माण कम्पनी षट्कोण आट्र्सले आफ्नै युट्युब च्यानलमार्फत गीतको अंश सार्वजनिक गरेको हो।
गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको सहभागिता छ। गीतको शब्द र सङ्गीत प्रकाश सपूतले तयार गरेका हुन्। सार्वजनिक अंशमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का केन्द्रमा देखिएकी छन्। साथै रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायतलगायत कलाकार पनि प्रस्तुत छन्। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्, जसमा नारी सौन्दर्यको प्रस्तुति झल्काइएको छ।
गीत सार्वजनिक भएसँगै टिकटक, फेसबुक रील्स तथा युट्युब शर्ट्समा प्रयोग हुन थालेको छ। गीतको पूर्ण संस्करण भने फिल्म रिलिजसँगै हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक भएको ‘लालीबजार’को ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ। सामाजिक सञ्जालदेखि सेलिब्रेटी वृत्तसम्म ट्रेलरको प्रशंसा भइरहेको छ भने युट्युब ट्रेन्डिङमा समेत स्थान बनाउन सफल भएको छ। फिल्म आमा–छोरीको सम्बन्धमा आधारित छ र बादी समुदायमा प्रचलित नाथिया प्रथाजस्ता सामाजिक विषयलाई समेटिएको छ।
छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्ष कथाको मुख्य केन्द्रमा रहेको छ। निर्देशक यम थापाको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छन्। फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। षट्कोण आट्र्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। ‘लालीबजार’ पनि सोही ब्यानर अन्तर्गत निर्माण भएको हो। फिल्ममा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् भने प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा संलग्न छन्। साथै विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका छन्।