काठमाडौँ । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ।
प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रलाई भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा हेरिएको छ।चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन्। यसमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ। पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन्। चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्ने भएका छन्। निर्देशक थापाका अनुसार यो चलचित्र केवल प्रेमकथामा सीमित नभई जीवनका विभिन्न आयाम समेटिएको कथा हो। उनले दर्शकले चलचित्रमार्फत आफ्नै जीवनका अनुभूति भेट्ने विश्वास व्यक्त गरेकी छन्।