काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरे को निर्देशनमा बनेको फिल्म ‘पहाड’ ले नेपालका पहाडी क्षेत्रको वर्तमान अवस्था र सामाजिक यथार्थलाई चित्रण गरेको बताइएको छ।
सोमबार साँझ आयोजित विशेष प्रदर्शनीमा सहभागी भएका संगीतकार शम्भुजित बाँस्कोटा ले फिल्मले देशको समग्र अवस्था प्रस्तुत गरेको प्रतिक्रिया दिए। उनले पहाडमा बसाइँसराइ, रोजगारीको अभाव र हरियाली पहाड उजाड हुँदै गएको यथार्थलाई फिल्मले उजागर गरेको बताए। त्यस्तै, चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसीले फिल्म मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको बताए। उनका अनुसार ‘पहाड’ ले युवालाई आफ्नो गाउँ, देश र पहाड फर्किन प्रेरित गर्छ र समसामयिक सामाजिक समस्यालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। निर्देशक घिमिरेले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताएका छन्।
उनका अनुसार फिल्मले उठाएको सन्देश दर्शकले राम्रोसँग बुझिरहेका छन् र धेरैले यसलाई आफ्नै कथा भएको महसुस गरेका छन्। अभिनेता विपिन कार्की ले दर्शकको सकारात्मक प्रतिक्रियाले टिम उत्साहित भएको बताए भने अभिनेता रवीन्द्र सिंह बानियाँ ले तुलसी घिमिरेसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए। फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, रेनुनाथ योगी लगायत कलाकारहरूको अभिनय रहेको छ। यसमा विशेषगरी पहाडी क्षेत्रमा बसाइँसराइका कारण सिर्जित सामाजिक तथा आर्थिक समस्यालाई मुख्य विषय बनाइएको छ। निर्देशक घिमिरेका छोरीहरू पञ्चमी घिमिरेले अभिनयमा डेब्यु गरेकी छन् भने भावना घिमिरेले प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेकी छन्। फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् भने संगीत निर्देशन रञ्जित सिंह गजमेरले गरेका छन्।