काठमाडौ। नेपाली चलचित्र क्षेत्रको आधिकारिक बक्स अफिस प्रणाली ’सिनेपा बक्स अफिस’ ले हाल प्रदर्शनरत चलचित्रहरूको पछिल्लो व्यापारिक विवरण सार्वजनिक गरेको छ। वैशाख ५ गते शनिबार राति ११ः५९ बजेसम्मको तथ्यांक अनुसार नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई ठूला फिल्म ‘रामनाम सत्य’ र ‘पहाड’ को व्यापारिक विवरण यस्तो देखिएको छ।
चैत्र २७ गतेबाट प्रदर्शनमा आएको विराज भट्ट अभिनित फिल्म ‘रामनाम सत्य’ ले बक्स अफिसमा बलियो पकड जमाएको छ। सार्वजनिक रिपोर्ट अनुसार, फिल्मले पहिलो हप्तामा ९७ हजार २०६ वटा टिकट बिक्री गर्दै २ करोड ७८ लाख १८ हजार ४८१ रुपैयाँको कुल व्यापार गरेको छ। दर्शकको आकर्षणका कारण फिल्मले सुरुवाती दिनदेखि नै बक्स अफिसमा राम्रो उपस्थिति जनाएको हो।
त्यस्तै, नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आएको वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ ले पनि व्यापारिक यात्राको सन्तोषजनक सुरुवात गरेको छ। सिनेपा बक्स अफिसको तथ्यांक अनुसार, यस फिल्मले प्रदर्शनको पहिलो हप्तामा १४ हजार ३१८ टिकट बिक्री गर्दै ४६ लाख ७६ हजार ६३७ रुपैयाँ बराबरको व्यापार गरेको छ।
सिनेपा बक्स अफिसले प्रत्येक साता नेपाली चलचित्रहरूको आधिकारिक व्यापारिक रिपोर्ट सार्वजनिक गर्दै आएको छ। आधिकारिक बक्स अफिस प्रणालीबाट प्राप्त यो तथ्यांकले हाल नेपालमा प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको बजार अवस्थालाई थप स्पष्ट पारेको छ।
