काठमाडौँ। कर्णाली प्रदेशको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित दैलेखमा आयोजित लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा सम्पन्न भएको हो ।
शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको उक्त सम्मेलनमा कर्णालीका सात जिल्लाका मौलिक लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक तथा झाँकीहरू प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन अवसरमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ले यस्तो कार्यक्रमले प्रदेशको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यस्तै, नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी ले सम्मेलनले स्थानीय बहुभाषिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्न मद्दत गरेको बताए । कार्यक्रममा प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल ले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोकनाट्य एउटै मञ्चमा प्रस्तुत हुनु सम्मेलनको प्रमुख विशेषता रहेको उल्लेख गरे । उनका अनुसार, कार्यक्रममा सांस्कृतिक अवस्था, चुनौती र सम्भावनाबारे पनि विस्तृत छलफल गरिएको थियो ।
सम्मेलनमा मुगुको ‘चम्पा’ नाँच, दैलेखको राउटे नाच, दुल्लु क्षेत्रको धमारी नाच, जुम्लाको खाँडो नाच, जाजरकोटको वीरता झल्काउने नृत्य, सल्यानको सल्यानी टप्पा, सुर्खेतको झ्याउरे नृत्य तथा कालिकोटको हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो । साथै नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित आधुनिक शैलीका प्रस्तुति पनि देखाइएको थियो । कार्यक्रममा सांस्कृतिक अध्येता राजबहादुर कुँवर ले कार्यपत्र प्रस्तुत गरेका थिए, जसमा प्रा।डा। मधुसुधन गिरी तथा लोकनृत्य सम्राट कुलमान नेपाली ले टिप्पणी गरेका थिए । त्यसैगरी राष्ट्रिय तथा चर्चित कलाकारहरू टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा निता थापा मगर ले पनि प्रस्तुति दिएका थिए । आयोजकका अनुसार कर्णालीको मौलिक कला–संस्कृति धनी भए पनि यसको संरक्षण र पुस्तान्तरणमा चुनौती रहेकाले यस्ता कार्यक्रमले यसको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।