काठमाडौँ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ। आइतबार आयोजित एक समारोहबीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।
आयोजकका अनुसार प्रतियोगितामा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स निर्णायकको भूमिकामा रहनेछन्। कार्यक्रममा बोल्दै किरण थापाले यस प्लेटफर्ममा टेलिभिजन रियालिटी शोभन्दा फरक शैलीमा प्रदर्शन–आधारित प्रस्तुति हुने बताए। उनले नेपालमा प्रतिभावान डान्सरहरूको कमी नभएको उल्लेख गर्दै यस्तो अवसरले नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनयबीच गहिरो सम्बन्ध रहेको बताउँदै स्टोरी टेलिङ, भाव अभिव्यक्ति र प्रस्तुति शैलीमा दुवै क्षेत्र समान रहेको धारणा राखिन्।
कार्यक्रमकी प्रतिनिधि कविता नेपालीले नेपालमा डान्स क्षेत्र केही कमजोर बन्दै गएको अवस्थामा यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मले नयाँ ऊर्जा दिने बताइन्। उनले डान्सरहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गरिन्। कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले पनि सम्बोधन गरेका थिए। आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सहभागीहरूले एपमार्फत दर्ता गरेर अडिसनमा सहभागी हुन सक्नेछन् भने विजेताले नगद पुरस्कारसहित विभिन्न अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।