काठमाडौं । चलचित्र पत्रकारहरूको साझा संस्था ‘चलचित्र पत्रकार संघ नेपाल’ को अध्यक्षमा समीर बलामी पुनः निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १०औं महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी जीवन कुमार पराजुलीलाई पराजित गर्दै बलामीले पदाधिकारीतर्फ सर्वाधिक ९५ मत प्राप्त गरी विजय हासिल गरेका छन्।
महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया अनुसार संगठन उपाध्यक्षमा ७३ मतसहित रघुनाथ सापकोटा निर्वाचित भएका छन् भने कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य निर्विरोध चुनिएका छन्। महिला उपाध्यक्षमा भने ७५ मत प्राप्त गर्दै दीपज्योति थापा निर्वाचित भएकी छिन्। उनी ६ वर्षअघि पनि सोही पदमा निर्वाचित भएकी थिइन्।
त्यसैगरी, कार्यसमितिको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिव पदमा चार जनाको प्रतिस्पर्धा रहेकोमा ५४ मतका साथ गोपिकृष्ण चापागाईं विजयी भएका छन्। सचिव पदमा भने खुल्लातर्फ मदन रिजाल ९४ मतसहित निर्वाचित भएका छन् भने समावेशी सचिवमा महम्मद जालिम निर्विरोध चुनिएका छन्। आर्थिक पाटो सम्हाल्ने कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) ७४ मतका साथ विजयी हुँदा सह–कोषाध्यक्ष पदमा ६२ मत प्राप्त गर्दै अर्जुन गुरागाईं निर्वाचित भएका छन्।
कार्यसमितिको ८ जना सदस्य पदमा भने सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। संघको विधान बमोजिम दुई जनालाई सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था रहेको छ। यसअघि ध्रुवराज न्यौपाने मनोनीत भइसकेका छन् भने बाँकी एक सदस्य पद पनि छिट्टै मनोनीत गरिने संघले जनाएको छ।